Nepal Flag
Home » , » युवाहरुलाई विदेश पलायनबाट कसरी रोक्ने ?

युवाहरुलाई विदेश पलायनबाट कसरी रोक्ने ?




टिकाराम गौतम / चैत २९ - नेपालीलाई पढ्ने तरीका सिकाईएको छ तर काम गरेर खान सिकाईएको छैन । अरुको किताब पढेर अरुले नै सिर्जना गरेको काम गर्न सिकाईएको छ । एकातिर कसरी आफुले व्यवसाय गर्ने भन्ने शिक्षा छैन त अर्कातिर लगानी गरेर आफुले व्यवसाय गर्ने वातावरण छैन ।
त्यसैले हामीलाई अहिले वैदेशिक रोजगार कति खुल्यो कुन देशमा कस्तो छ भन्ने कुरामा चासो हुन्छ र अधिकांश नेपालीलाई जानकारी हुन्छ । नेपाली युवाहरु लगभग ४० लाखको हाराहारीमा विदेशमा छन् ।
केहि युवाहरु विद्यार्थी भिसाको बहानामा विदेशमा गएका भएपनि अधिकांश रोजगारीको सिलसिलामा गएका हुन् । विदेश जानु कतिको बाध्यता हो त कतिको रहर हो । तर समग्रमा भन्ने हो भने बाध्यता नै प्रमुख हो ।
सरकार पनि स्वदेशमा रोजगारी सिर्जना गर्ने भन्दा वैदेशिक रोजगारीको लागि सहुलियतको घोषणा गरिरहेको छ । अब कुवेत, ओमान र बहराईन जस्ता देशहरुमा जान पैसा नलाग्ने भनेर सरकार घोषणा गर्दैछ । हाल नया गन्तब्यको रुपमा पुन ईजरायल खुलेको भर्खरै सार्वजनिक भएको छ ।
वैदेशिक रोजगारीमा जानु आफुमा नराम्रो भने हैन र सरकारले सहुलियतको घोषणा गर्नुपनि नराम्रो भने पक्कै पनि हैन तर पनि हामी कहिलेसम्म अर्काको भर पर्नु कहिले परनिर्भरताबाट मुक्ति पाउने भन्ने प्रश्न उब्झेको छ र यस विषयमा संबन्धित निकाय लगभग मौन बसेको छ ।
जबसम्म देशमा रोजगारीको सिर्जना हुँदैन तबसम्म देशको आर्थिक उन्नति संभव छैन र देशको उन्नतिको लागि चाहिने जनशक्ति रोक्नु सरकारको कर्तव्य पनि हुनुपर्छ । वैदेशिक रोजगारका कारण बिभिन्न सामाजिक समस्या दिनानुदिन बढ्दै गएको छ ।
अहिले नेपालको अधिकांश गाउँ युवाबिहीन बनेको छ । कति ठाउँमा मलामी जाने मान्छेको अभाव छ त कति गाउँमा कोहि बिरामी हुंदा औषधि उपचार गर्न सम्बन्धित ठाउँसम्म पुर्याउन सक्ने मान्छे नै छैन ।
कतिको त श्रीमती अर्कैसँग लागेर श्रीमानले पठाएको पैसामा मोज गरेर श्रीमान नेपाल फर्किदा बिचल्ली बनेका छन त कति श्रीमतीहरु पनि त्यसरी नै श्रीमानहरुले अर्कै ल्याएर बिचल्ली हुनुपरेको छ ।
यसरी वैदेशिक रोजगारीले खुसी भन्दा धेरैलाई दुखी तुल्याएको छ । युवाहरु विदेशमा गएर जत्तिकै नेपालमा खट्ने हो भने पक्कै पनि आर्थिक परिवर्तन सम्भव छ । यसको लागि सरकारले लगानी बातावरण बनाउनुपर्छ ।
तर युवाहरुलाइ विदेश पलायन रोक्न न त सरकारी तबरबाट कुनै पहल छ न त युवाहरु नै जागरुक हुन सकेका छन् । जबसम्म युवाहरुलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकिन्न तबसम्म देशको आर्थिक उन्नति संभव देखिदैन । जसको लागि सरकारी निकायले पक्कै सोच्नु पर्ने देखिन्छ ।
वैदेशिक रोजगारले केहि समय दिएको आम्दानीले खर्च गर्ने बानी मात्र सिकाउँछ । वचत गर्ने बानी सिकाउँदैन । जति नै कमाई गरे पनि दिगो रुपमा यसले पारिवारिक समस्या समाधान गर्दैन र देशको आर्थिक क्षेत्र धान्न सक्दैन ।
त्यसैले देशको उर्जाशील जनशक्ति बिदेश पलायनबाट रोक्न सम्बधित ब्यक्ति पनि सचेत हुन जरुरी छ नै । त्यसका साथै सरकारी तबरबाट पनि बिशेष पहल गर्न जरुरी छ । यसको लागि युवाहरुलाई लगानी वातावरण बनाउन जरुरी छ ।
गाउँगाउँमा कृषिको लगानी वातावरण निर्माण गर्न कृषि तालिम दिन जरुरी छ । युवालाई जागुरुक गराउन सम्बन्धित निकायले पहल गर्न जरुरी हुन्छ । कुनै पहल गरिएन भने दीर्घकालीन रुपमा देशले ठुलो क्षती बेहोर्नुपर्ने निश्चित छ ।
हाल टोकियो जापान
Share this article :

No comments :