स्वभाविक रुपमा विदेश भनेपछि हुरुक्कै हुने हामीमध्ये धेरै छौं ।
कन्सल्टेन्सीलाई भिषा मात्र निकाल्दे, उता गएपछि देखाजाएगा भन्छौं। डकुमेन्टेसन
देखि सबै काममा कन्सल्टेन्सिको मात्र भर गर्छौं अनि मात्र देख्ने गर्छौ पल्लो
गाँउको हर्केले पठाएको लाख–लाख । त्यहि लाख कमाउने सपना देखेर कम्तिमा १० लाखदेखि
माथि जति भएपनि खर्च गर्न तयार हुन्छौं । विना तयारी जापान आएपछि दुस्ख पाउँछौं अति
पुर्पुरो समात्दै कन्सल्टेन्सीलाई तथानाम गाली गछौंं ।
म पनि तिनै मान्छे भित्र
पर्छु । मासिक लाखौ–लाख कमाउने सपना बोकेर विद्यार्थी भिषा लागेको पासपोर्ट बोकेर
जापान छिरेको ५ बर्ष भैसकेछ । नढाँटी भन्दा म पनि अरु जस्तै बिना तयारी, बिना
अध्ययन आएको र जापानमा आफन्त र चिनजानका साथीभाई नभएकाले आएलगत्तै काम नपाएर हैरानी
खेप्नु पर्यो। सबैको जस्तै मेरो पनि एउटै समस्या थियो भाषा । साथमा भनसुन गरिदिनेको
। न भाषा न भनसुन । यि दुईबिना जापानमा काम पाउनु मरुभुमिमा पानी पाउनुबराबर थियो ।
मलाई याद छ, त्यो समय म आफुलाई संसारकै अभागी मान्छेहरुको लिष्टमा राख्थें ।
तनाब पर्यो, कसलाई भनौ के गरौ भन्ने सोचेर धेरै आत्तिए । जापान छिरेको ३ पुग्नैलाग्दा
पनि कामको मेलोमेसो नमिल्नु अनि ल्याएको खर्च पनि सकिनै लाग्नु, यो भन्दा बढि तनाब
केमा होला र ? यिनै तनाबै तनाबका वीच एक जना ६ महिना पहिले जापान आएका दाईले अफर
दिए ५० हजार दिएदेखि यामातोमा काम लगाईदिन्छु । जुन काम जापानको एक गाह्रो काम
मध्यमा गनिने गर्छ । कामै नगरि बस्नुभन्दा त पैसा तिरेर भएपनि काम गर्छु भन्ने सोच
आयो, रोइकराई गरेपछि ३० हजारमा कुरा मिल्यो र अन्तर्बार्तामा सहिभागी भएँ ।
बिडम्बना नै मान्नुपर्छ त्यहाँ पनि भाषाको अभावले मेरो नाम निस्किएन न त दिएको ३०
हजार नै फिर्ता आयो ।
समुन्द्र तरेर आएको मान्छेको मन पनि पखालिने रैछ, यस्तै
सम्झिएर चित्त बुझाएँ । यसरी दिन बित्दै थियो । ३ महिना बढी भईसक्यो काम नपाउँदाको
पिडा अनि लाख कमाउने सपना बोकेर लिएको लाखौ–लाख ऋणले मन चसक्क घोच्थ्यो । घरमा फोन
गर्दा बाबु पैसा माग्न थालिसके, कैले पठाउँछस् तनि ? भन्न सुरु भैसकेको थियो ।
आत्तिएर रेलको लिगमा हाम्फालौं क्याहो, भन्ने सम्म सोच्न भ्याइसकेको थियो मनले ।
अनि सम्झे घरमा बा–आमा छन् उनीहरुका लागि भएपनि मैले बाँच्नुपर्छ । म त मरेर
जाउँला, मसंगै मेरा बा आमापनि मर्नेछन्, उनीहरुको सपना मर्नेछ । आत्माहत्या गर्ने त
आँटिला कायर हुन् मलाई कायर हैन बहादुर छोराको परिचय दिनुछ भनेर आत्माबोध गरें र
खाली भएको समयमा अन्य कुरा सोच्नभन्दा जापानी भाषा पढ्नमा जोड दिएँ ।
पढ्ने
बाहानामा लाख कमाउने सपना संगै बोकेर हिडेको म नेपाल छँदा जापानवारे केही केहि
नबुझी आएकोले ५–६ महिना त यहाँको बातावरण र न्युनतम भाषा बुझ्न समय लाग्यो । त्यति
बेला अहिलेको जस्तो सामाजिक संजालहरुको व्यापकता थिएन, नत्र सजिलो हुन्थ्यो होला,
यताका सूचनाहरु नेपाल पुग्थेनन्, कन्सल्टेन्सीले भनेका कुरा पत्याउनै पर्ने बाध्यता
थियो । पछि बिस्तारै साथीभाईहरु बढे, सम्बन्ध पनि बढ्दै गयो भाषाको समस्या पनि
घट्दै गयो । भाषामा समस्या नभएपछि र चिनजानमा साथीभाईहरु भएपछि काम पाउन कठिन नहुने
रहेछ भन्नेकुरा त्यही समयमा सिकें । समय यसरीनै वित्दै थियो १८ महिने पढाई पनि
सकियो त्यसपछिको अध्ययनका लागि कलेजहरु बुझ्न र परिक्षा दिन थाले ३–४ वटा कलेजको
परिक्षा दिएपछि एउटा कलेजमा भर्ना हुन सफल भएँ । नेपालमा ब्याचलर सकेरै आएको हुनाले
सहज भयो ।
तर बिडम्बना आएको दुईवर्ष बितिसकेछ तर आउँदा लागेको ऋणको ५० प्रतिशत रकम
पनि तिर्न नसक्दा चाहि त्यहाँ बसेर केही हुन सक्दैन भने घर नै फर्की भन्ने दबाब आउन
थालिसकेको थियो । अरुको छोराहरु लाख लाख पठाउछन् त भने कहिलै पठाउदैनस के गरेको छस
मोजमस्तीमै सक्छस कि क्याहो ? धेरै पटक यस्ता प्रश्न आएँ म भने हरेक पटक नाजवाफ ।
मनमनै सोच्थेंं मेहेनत गर्छु, क्यै न क्यै त पक्कै हुन्छ । एन वान को परिक्षा दिएँ
जसमा उतिर्ण पनि भएँ । एन वान, जुन धेरै जापानिजहरुले पनि सहजै पाश गर्न सक्दैनन
भनिन्छ, त्यसमा म पास भएको थिएँ, खुशी लाग्यो, मेरो मेहेनतले यहाँनेर काम गर्यो
भनेर दंग पनि भएँ । भोकेसनल कलेजको दुइबर्षे पढाई पनि सकियो, जापानी भाषा परिक्षा
पनि राम्रो भएको अनि नेपालको ब्याचलर पनि पास भएकाले मलाई जापानको टोयोटा कम्पनीले
अन्र्तवार्तामा बोलायो । अन्तवार्ता राम्रो भयो जसमा म सफल हुन पनि सकें । त्यही
कम्पनीमा अहिले म २०० जना भन्दा बढी जापानीज भन्दा पनि माथिल्लो पोष्टमा बसेर काम
गरिरहेको छु ।
अब भने बल्ल हरेक महिना लाख पठाउन सक्ने भएको छु । बाबा आमा पनि खुसी
हुनुहुन्छ । मेरो भोगाइमा ठक्कर खाएपछि ढुङ्गो मुर्ती बन्छ भन्ने कथन चरितार्थ भएको
छ । मैले बल्ल बुझेको छु, जापान आउँदाको दोस्रो महिना देखिनै कमाउँछु भनेर सोचेको
त्यो लाख, लाखौ ठक्कर आएपछि आज बल्ल कमाउन सक्ने भएको छु । तर बिडम्बना मलाई भने
अझै आफ्नो देश फर्किने फुर्सद मिलेको छैन । लाग्छ, म यही लाखमा अल्झिरहेको छु, थाहा
छैन अझै कति अल्झनेछु ।
म एउटा उदाहरण मात्र हुँ, मेरो देशबाट विद्यार्थी भिषा
लागेको हरियो पासपोर्ट बोकेर जहाज चढ्ने हरेक नेपाली विद्यार्थीको हालत यस्तै हो ।
यो पनि सत्य हो कि जहाँसुकै जानुस् कुनै हतार र हतास बिना मेहनत गर्नुभयो भने सफलता
तपाईको पछाडि दौडन्छ । यही कामना गर्छु यहाँ आउने कुनै पनि नेपालीको सुरुवाती दिन
मेरोजस्तो नबितोस्, राम्रोसंग बुझेर मात्र आउनुस् जापान ।
No comments :
Post a Comment